images
images

तामाकोशी गाउँपालिकाबाट मतदाता परिपत्र लिएर फरार काफ्लेमाथि निर्वाचन कसुर अनुसार कारवार्ही हुने

  • २८ बैशाख २०७९, बुधबार १८:००

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित भिरकोटमा मतदाता परिचयपत्र लिएर फरार भएका नेपाली कांग्रेसका नेता महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रबाट आज दिउँसो १ सय २५ जनाको मतदाता परिचयपत्र नै लिएर फरार भएका काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा पौडेलले उनलाई भिरकोट आसपासबाटै नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । आज दिउँसो नयाँ मतदाता परिचय वितरणका क्रममा उनले १ सय २५ जना मतदाताको परिचयपत्र आफुसँग लिएर भागेका थिए ।

काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखेको छ । उनीमाथि निर्वाचन कसुर सम्बन्धी सजाय ऐन २०७३ अनुसार कारवार्ही हुनेछ । निर्वाचनसँग सम्बन्धीत विषय भएकाले प्रहरीलाई नियन्त्रणमा लिने अधिकार भएपनि अन्य कुनै कारवार्ही प्रक्रिया अघि बढाउने अधिकार नभएको डिएसपी पौडेलले बताउनुभयो । उनीमाथि कस्तो कारवार्ही हुन्छ भन्ने विषयमा अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग परामर्श गरिरहेको प्रहरीले जनाएको छ । काफ्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा भिरकोटको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी वहालवाला जनप्रतिनिधि हुन् ।

यता नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले भने वडाध्यक्ष भएकाले आफुले वडाका सवैलाई चिन्ने भएकाले आफै वितरण गर्ने भन्दै उनले परिचयपत्र लिएको घटनालाई अतिरञ्जित बनाउन खोजिएको बताउनुभएको छ । वडा कार्यालयमा राखिएको सिसि क्यामेरा अफ गरेर उनले मतदाता परिचयपत्र लिएर फरार भएको स्थानीयको आरोप छ ।