
काठमाडौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु नीति तथा कार्यक्रमका पक्षमा उभिएका थिए भने विपक्षी दलले विरोध गरेका थिए ।
नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिएकोमा ती सबै अस्वीकृत भएपछि सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्नुभएको थियो । सो प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ देखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो ।
नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते संघीय संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।