images
images

ओली र प्रचण्डको एउटै बोली: ‘राजावादीका सपना पुरा हुन्न, आन्दोलनको दुस्साहस नगर्नू’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।

राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताउनुभएको हो । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिनुभएको छ । उहाँले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रिन चेतावनी दिनुभएको हो ।

राप्रपा, राप्रपा नेपाललगायतका पार्टी र विभिन्न राजावादी संघसंस्थाले नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमार्फत १५ जेठबाट अनिश्चितकालनि जनआन्दोलन घोषणा गरेका छन् । राजावादीहरूले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायका एजेन्डा अघि सारेर आन्दोलन गर्दै आएका छन् ।

त्यही घोषणाप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिगामी सपना काम नलाग्ने जिकिर गर्नुभएको हो ।