काठमाडौं । ‘जता सत्ता उतै ढल्क’ । आज दीपक मनाङ्गेको अवस्था यस्तै भएको छ । आज मात्रै दीपक मनाङ्गे गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् । यो सँग उनी छैटौं पटक मन्त्री बनेका छन् । यति मात्रै नभई २० पटक सम्म पनि मन्त्री बन्नुपर्ने हुन सक्ने उनको भनाई छ ।
मनाङ्गे जसको नेतृत्वमा सरकार बन्छ उतैतिर ढल्कने गर्छन् । यसअघि उनी एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा पनि भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यो सरकार ढल्यो तर मनाङ्गेको मन्त्री पद अझै ढलेन । उनी आजदेखि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सहभागी भएका छन् । हिजो उनले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । विश्वासका मत दिएका उनैलाई आज मुख्यमन्त्रीले मन्त्री बनाएका हुन् । सो क्रममा मन्त्री मनाङ्गेले कार्यभार सम्हाल्दै यस्तै अवस्था रहेमा २० पटकसम्म पनि मन्त्री बन्न सक्ने बताएका छन् ।
मनाङे २०७४ र २०७९ मा मनाङको प्रदेश सभा क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा स्वतन्त्र सांसद भएका उनी दुई वर्षपछि नेकपा प्रवेश गर्दै खेलकुद मन्त्रीसमेत बनेका थिए । त्यसबेला एमालेका पृथ्वीसुब्बा गुरूङ मुख्यमन्त्री थिए । गुरूङ नेतृत्वको सरकार जोगाउन मनाङे त्यसबेला पनि निर्णायक थिए । त्यसपछि २०७८ मा एमाले नेतृत्वको सरकार ढल्यो र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि मनाङे सहभागी भए । उनी त्यसबेला बहुमतका लागि निर्णायक थिए । २०७९ को निर्वाचनपछि एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वमा सरकार बन्यो ।
मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङेले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको समेत घोषणा गरे । पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संघमा गठबन्धन बदलेपछि खगराज नेतृत्वको सरकार पनि ढल्यो । त्यसपछि गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने बेलामा मनाङेले फेरी आफू एकीकृत समाजवादीमा नरहेको र स्वतन्त्र हैसियतमा रहेको जानकारी प्रदेश सभा सचिवालयलाई दिए । खगराज अधिकारी नेतृत्वको सरकारमा दोहो¥याएर मन्त्री बनेका उनी कांग्रेस नेतृत्वको सरकारमा पनि दोहोरिन पुगेका छन् ।