काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गर्नुभएको छ ।
स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा सहभागी हुन तथा संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका लागि उहाँ आज जेनेभा प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिको अनुपस्थितिमा उहाँको कार्यभार उपराष्ट्रपति रामसाहाय प्रसाद यादवले सम्हाल्नुहुने छ । रााष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । उहाँले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा मन्त्रीहरु पुगेका थिए । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनुहुनेछ ।










