हेटौँडा । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा माग गरेको छ ।
बागमती प्रदेशसभाको पहिलो दल नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्रीको राजिनामा माग गरेको हो । नेपाली कांग्रेसले आज विज्ञप्ती जारी गर्दै राजिनामा दिन र महत्वपुर्ण निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जारी गरेको विज्ञप्तीमा जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको र कामचलाउ अवस्थामा पुगेको भन्दै महत्वपुर्ण निर्णय गर्न उपयुक्त नहुने उल्लेख गरिएको छ । कांग्रेसले एमालेका मन्त्रीहरुले राजिनामा बुझाएको र समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको बताएको छ ।
कांग्रेसले राजनीतिलाई सहज रुपमा अघि बढाउन र सहमतीय सरकार गठन गर्न मार्ग प्रशस्त गरिदिन आग्रह पनि गरेको छ । कांग्रेस र एमालेबीच भएको सत्तासहमती अनुसार बागमती सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।