जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेटिएको पुस्तक सार्वजनिक गरेको छ ।
असार १० गते आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको जिरी नगरपालिकाले बजेट पुस्तक सार्वजनिक गरेको हो । एक समारोहकाबीच नगरप्रमुख मित्र बहादुर जिरेलले पुस्तक सार्वजनिक गर्नुभयो । जसमा आगामी आर्थिक वर्ष नगरमा सञ्चालन हुने विकास निर्माणको योजना तथा कार्यक्रमहरु र बजेट समेटिएको छ । दोलखा जिल्लाका स्थानीय सरकारमध्ये जिरी नगरपालिकाले पहिलो पटक बजेट पुस्तक सार्वजनिक गरेको हो ।
पुस्तक सार्वजनिक गर्दै नगरप्रमुख मित्र बहादुर जिरेलले बजेट पुस्तिकामा आगामी आर्थिक वर्ष सञ्चालन हुने योजना, कार्यक्रम र बजेटका बारेमा नगरबासीले जानकारी लिनसक्ने बताउनुभयो । यसैगरी, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट ल्याएपछि आफुहरु पुस्तक बनाउन लागिपरेको र नयाँ आर्थिक वर्ष सुरु हुन लागेको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको बताउनुभयो ।
कतिपय स्थानीय सरकारले आगामी आर्थिक वर्षको वजेट अझै ल्याउन सकेका छैनन् । बजेट ल्याएका स्थानीय तहहरू मध्ये पनि कतिपयले बजेट बाँडफाड गरिसकेका छैनन् । तर, जिरी नगरपालिकाले प्रक्रियागत रूपमा योजना तर्जुमा गरी सबै योजना र कार्यक्रममा बजेट विनियोजन गरी चालु आर्थिक वर्ष सकिनु अघि नै बजेट पुस्तिका सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले लामो मेहनतपछि चालु आर्थिक वर्षभित्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेटिएको पुस्तक सार्वजानिक गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाको आगामी आर्थिक वर्षको कार्यक्रम र बजेटलाई पुस्तकको रुपमा तयार पारिएकोे भन्दै साउनको पहिलो साताबाट सुरु गरिने नयाँ आर्थिक वर्षको कार्यक्रमको लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कतिपय स्थानीय सरकारले आगामी आर्थिक वर्षको वजेट अझै ल्याउन सकेका छैनन् । बजेट ल्याएका स्थानीय तहहरू मध्ये पनि कतिपयले बजेट बाँडफाड गरिसकेका छैनन् ।
तर, जिरी नगरपालिकाले प्रक्रियागत रूपमा योजना तर्जुमा गरी सबै योजना र कार्यक्रममा बजेट विनियोजन गरी चालु आर्थिक वर्ष सकिनु अघि नै बजेट पुस्तिका सार्वजनिक गरेको हो । जिरी नगरपालिकाले आज तेस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेटिएको पुस्तक सार्वजनिक गरेको थियो ।