बाग्लुङ । बाढी पहिरोका कारण बाग्लुङमा ५० परिवार विस्थापित भएका छन् ।
बाग्लुङको बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नम्बर १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । पहिरोका कारण खानेपानी, विद्युत आपूर्ति हुन सकेको छैन । विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाले खाद्यान्न र त्रिपाल, बत्ती लगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको छ ।