images
images

दोलखामा स्क्रव टाईफसका बिरामी बढे, संक्रमितको संख्या तीन पुग्यो

दोलखा । दोलखामा थप दुई जनामा स्क्रव टाईफस रोगको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको जिरी र बैतेश्वरका दुई जनामा स्क्रव टाईफस संक्रमण देखिएको हो । बैतेश्वर अस्पतालमा गरिएको परीक्षणका क्रममा जिरी नगरपालिका–८ की एक महिला र बैतेश्वर गाउँपालिका–४ का एक पुरुषमा स्क्रव टाईफस देखिएको हो । स्क्रव टाईफसबाट संक्रमित दुबै जना बैतेश्वर अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत सुजिना तमाङले जानकारी दिनुभयो ।

यसअघि, बैतेश्वर गाउँपालिकाकी एक महिलामा स्क्रब टाईफस रोगको संक्रमण देखिएको थियो । यद्यपि ती महिला बैतेश्वर अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेकी छन् । योसँगै दोलखामा स्क्रव टाईफसबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ । स्क्रव टाईफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रव टाईफसको संक्रमण भएमा कडा ज्वरो आउने, आँखा रातो हुने, लगातार टाउको दुखिरहने, पेट दुखाई र झाडापखालाले सताउने, स्वास फेर्न समस्या हुने, जोर्नि र मांशपेशी दुख्ने, शरीरमा बिबिरा देखिने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखिने गर्दछ ।