काठमाडौं । बारामा टेलिफोनमा रिचार्ज सकिएको विषयमा विवाद हुँदा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।
निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन् । विमल कुमारले मादक पदार्थ सेवन गरी आएपछि वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद हुँदा जथाभावी खुर्पा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
श्रीमतीले रक्सी खान पैसा हुने, वाइफइमा रिचार्ज गर्न नहुने भनेपछि विवाद सुरु भएको थियो । विवादको क्रममा विमलले जथाभावी खुर्पा प्रहार गर्दा दुई छोरी घाइते भएका छन् । आमालाई बचाउन गएकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । प्रहरीका अनुसार जेठी छोरी गंगाको अवस्था भने गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारको लागी काठमाडौं पठाइएको छ । खुकुरी प्रहार गर्ने विमललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।