दोलखा । दोलखामा स्क्रव टाईफस संक्रमितको संख्या १२ पुगेको छ ।
पछिल्लो समय ३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२ पुगेको हो । साउनदेखी भदौ १७ गतेसम्म संक्रमितको संख्या ९ जना रहेकोमा ९ दिनको अवधिमा ३ जना स्क्रव टाईफस संक्रमित थपिएका हुन् । बैतेश्वर अस्पतालमा गरिएको रगत परीक्षणमा वडा नम्बर ४ का ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत सुजिना तमाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित तिनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म जिल्लाको बैतेश्वर गाउँपालिकामा सबैभन्दा बढी स्क्रव टाईफसका बिरामी फेला परेका छन् । बैतेश्वरका ३ जना पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण देखिएको हो । यस्तै, भीमेश्वरमा एक पुरुष र २ महिला गरी ३ जनामा स्क्रव टाईफस देखापरेकोे छ भने जिरी नगरपालिकाकी एक महिला तथा बिगु र गौरीशंकर गाउँपालिकामा १/१ जना पुरुषमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा पहिलो पटक साउन १ गते बैतेश्वर गाउँपालिकाकी एक महिलामा स्क्रव टाईफस देखापरेको थियो । सो समयदेखि हालसम्म १२ जना स्क्रव टाईफसबाट संक्रमित बनेका छन् । जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लाको बैतेश्वर र भीमेश्वर नगरपालिकामा संक्रमितको संख्या बढी देखिएको छ । बैतेश्वरमा अन्य वडाको तुलनामा वडा नम्बर ४ मा सबैभन्दा बढी स्क्रव टाईफसबाट संक्रमित देखिएका हुन् । यस्तै भीमेश्वरको वडा नम्बर २ र ६ मा स्क्रव टाईफस बढी देखिएको छ ।
हालसम्म जिल्लामा स्क्रव टाईफस संक्रमितको संख्या १२ पुगेपनि कसैमा पनि अवस्था जटिल नदेखिएको र यसअघि संक्रमण पुष्टि भएका ९ जना निको भैसकेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्क्रव टाईफसको लक्षण देखिएमा पहिचानका लागि दोलखाको पशुपति चौलागाईँ स्मृती अस्पताल, जिरी अस्पताल, बैतेश्वर अस्पताल, शैलुङ अस्पताल र सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण हुँदै आएको छ ।
स्क्रव टाईफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यो रोगको संक्रमण भएमा कडा ज्वरो आउने, आँखा रातो हुने, लगातार टाउको दुखिरहने, पेट दुखाई र झाडापखालाले सताउने, स्वास फेर्न समस्या हुने, जोर्नि र मांशपेशी दुख्ने, शरीरमा बिबिरा देखिने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखिने गर्दछ ।
यो रोगलाई महामारीको रुपमा फैलिन नदिनका लागि आफ्नो घर वरपर फोहोर र झाडी सफा गर्ने तथा मुसा नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालय दोलखाले आग्रह गरेको छ ।