काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।
अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । कम्पनी रजिस्टारको कार्यालयले सूचना जारी गरी यस्तो सेवा बन्द गरिएको जानकारी गराएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रकृयामा लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयमा ल्याउन लागेपछि त्यसका विरुद्धमा अदालतमा मुद्धा परेको थियो ।
सर्वोच्च अदालतको अनलाइन दर्ता प्रणाली सफ्टवेयर विषयमा दिएको अल्पकालीन अन्तरिम आदेशका कारण हाललाई सेवाबन्द गरेको कार्यालयले जनाएको छ । सर्वोच्च अदालतले असार १९, साउन १७, भदौ ९ र भदौ १६ गते कम्पनी रजिस्ट्रारको कार्यालयले गरेका निर्णय अनुसार सबै काम कारबाही माथि रोक लगाएको कारण बन्द गरिएको छ ।
यो सेवा कहिले सुरू गर्ने तथा नयाँ सफ्टवेयर प्रयोग गर्ने वा नगर्ने भन्ने विषय आदेश टुंगो लागेपछि मात्रै थाहा हुने कार्यालयले जनाएको छ ।