images
images

दोलखामा डेंगु संक्रमण तिव्र, ३ दिनको अवधिमा १९ जना संक्रमित

  • २५ आश्विन २०७९, मंगलवार १०:२८

दोलखा । हिमाली जिल्ला दोलखामा डेंगु तिव्र गतिमा फैलिएको छ ।

जिल्लामा ३ दिनको अवधिमा १९ जना डेंगु संक्रमित थपिएका हुन् । असोज २१ गतेदेखि ३ दिनको अवधिमा १९ जनामा संक्रमण देखिएको हो । योसँगै डेंगु संक्रमितको संख्या ४१ पुगेको छ । देशभर डेंगु संक्रमितको संख्या बढीरहेका बेला दोलखामा पनि संक्रमितको संख्या ४१ पुगेको हो । हालसम्म १८ जना महिला र २३ जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो समय तामाकोशी गाउँपालिका डेंगु संक्रमणको हव बन्दै गरेको छ । तामाकोशीमा हालसम्म ९ जनामा संक्रमण देखिएको हो । यस्तै भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाका ८÷८ जना, मेलुङका ६ जना, शैलुङमा ३ र गौरीशंकर गाउँपालिकाका १ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यसअघि असोज २१ गतेसम्मको अवधिमा २२ जना संक्रमित रहेकोमा पछिल्लो समय संक्रमण तिव्र बनेको स्वास्थ्य कार्यालय दोलखाका सुचना अधिकारी पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । संक्रमित सवै जना उपचाररत रहेका छन् । पछिल्लो समय डेंगु संक्रमित बनेका अधिकांश काठमाडौंबाट आएकाहरु नै रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार स्वास्थ्यमा समस्या भएर अस्पताल पुगेकामध्ये डेंगुको लक्षण देखिएकाहरुको मात्रै परिक्षण गर्ने गरिएको छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गर्दछ । लामखुट्टेले टोकेको तीनदेखि १४ दिनको अन्तरालमा डेंगुको लक्षण देखिने चिकित्सकहरुले बताएका छन् । डेंगु संक्रमण भएमा चिसो अनुभव हुने र कडा खालको ज्वरो आउने हुन्छ । चिकित्सकहरुले डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिव्र रुपमा घट्ने भएकाले स्वाथ्यको विशेष ख्याल गर्न सुझाव दिएका छन् ।