images
images

बुथ कव्जाले बदनाम दोलखा, ‘प्रदेशसभा १ यसरी बन्दैछ निर्वाचनको ‘इपिसेन्टर’

जिरी (दोलखा) । दोलखाको निर्वाचनले राष्ट्रियस्तरमै तरङ्गित बनाउने गरेको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको दोलखामा विशेषगरी प्रदेश सभा क्षेत्र नम्बर १ मा हुने निर्वाचनले चुनावी माहोल नैं परिवर्तन गर्ने गरेको हो । गौरीशंकर गाउँपालिकादेखि मेलुङ गाउँपालिकासम्म पर्ने यो क्षेत्रले कतिपय ‘हेभिवेट’ उम्मेदवारलाई समेत पराजित गरेको छ भने यही क्षेत्रबाट कतिपय नेताले निर्वाचन जितेर मन्त्री हुने अवसर समेत पाइसकेका छन् । निर्वाचनका बेला हुने झडप, कुटपिट, हत्या र बुथ कव्जा सम्मका घटनाले सुरक्षा चुनौती थपिएको छ । स्थानीय तहको निर्वाचनदेखि प्रतिनिधि सभा र प्रदेशसभा सम्मको निर्वाचन धाँधलिरहित र शान्त वातावरणमा हुन सकेको छैन ।

दोलखाको प्रदेशसभा १ अन्तर्गत गौरीशंकर, बैतेश्वर, तामाकोशी र मेलुङ गाउँपालिका तथा जिरी नगरपालिकागरी ५ स्थानीय तह पर्दछन् । प्रदेशसभा २ मा भीमेश्वर नगरपालिका, शैलुङ, कालिञ्चोक र विगु गाउँपालिका गरी ४ स्थानीय तह छन् । निर्वाचनका लागि सुरक्षा निकायले बनाएको रणनीतिमा यो पटक पनि दोलखा जिल्ला सुरक्षा चुनौतीको रुपमा रहेको छ । प्रदेशसभाका २ निर्वाचन क्षेत्र मध्ये प्रदेशसभा १ स्थानीय प्रशासन र सुरक्षा निकायका लागि सँधै टाउको दुखाईको बिषय बन्ने गरेको छ ।

२०६४ सालपछि प्रत्येक पटक भएको निर्वाचनलाई आधार मान्ने हो भने पनि दोलखालाई ‘इलेक्सन इपिसेन्टर’को रुपमा हेरिन्छ । २०६४ सालपछि निर्वाचनका बेला जिल्लामा अशान्ति हुँदै आएकोमा त्यसको १० वर्षमा २०७४ सालको निर्वाचनमा ज्यानै जाने घटना घट्यो । २०६४ साल पछिको पछिल्लो ५ वटै निर्वाचनमा जिल्लामा साना–ठूला अशान्ति, झडप, बुथ कब्जा, हवाई फायर लगायतका घटनाका वीच निर्वाचन हुँदै आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ज्यानै जाने घटना भएको दोलखा प्रदेशसभा १ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण मतदान हुन सकेन । गत स्थानीयतहको निर्वाचनमा बैतेश्वर, तामाकोशी र मेलुङ गाउँपालिकाको विभिन्न स्थानमा झडप र अशान्ति मच्चियो । कतिपय मतदान केन्द्रमा बुथ कव्जा भए भने कतिपय स्थानमा मतदाता मतदानस्थल सम्म पुग्नै पाएनन् । झडप, अशान्ति फैलाएर मतदातालाई तितरवितरण बनाएर बुथ कब्जा गर्नु केही राजनीतिकदलको विशेषता नैं भईसकेको छ ।

गत स्थानीयतहको निर्वाचनमा बैतेश्वर सहित क्षेत्र नम्बर १ को विभिन्न स्थानमा तनाव सिर्जना भएको थियो । सानातिना घटना धेरै स्थानमा भएपनि बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीको मतदान केन्द्र नेपाली कांग्रेसले कव्जा गरेर एकलौटी मत खसाल्यो भने बैतेस्वरकै वडा नम्बर ३ मिर्गेमा कांग्रेस नेकपा माओवादी केन्द्रका कार्यकर्ता वीच दिनभर झडप भयो । सो क्रममा दर्जनौं घाईते भए । गैरीमुदीमा तनाव तथा बुथ कव्जाको घटना हुनुका साथै मिर्गेमा दिनभर जसो झडप भएपछि काठमाडौंबाट हेलिकोप्टर मार्फत थप सुरक्षाकर्मी उतारे पनि स्थिती नियन्त्रणमा आउन सकेन । जिल्लाको मेलुङ गाउँपालिकाको भेडपू, डाडाखर्क तथा बिगुको लामावगर र ओराङमा पनि तनाव भएको थियो । सुरक्षाकर्मीले धेरै मतदान केन्द्रमा हवाई फायर समेत गरेका थिए ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनका बेला दुई जनाको मृत्यु भएको थियो । गौरीशंकर गाउँपालिका–२ स्थित जुँगुमा चुनाव प्रचारप्रसारका क्रममा एमाले र माओवादीबीचको दोहोरो झडपमा परि एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो भने निर्वाचनको दिन तनाव सिर्जना भएपछि मेलुङ गाउँपालिकास्थित पवटीमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाउँदा अर्का एक जनाको मृत्यु भएको थियो ।

एक–अर्कालाई च्यालेन्ज गर्दै नेताहरु

निर्वाचनको मिति नजिकिएसँगै दोलखामा यो पटक पनि अशान्ति सिर्जना हुने हो कि ? भन्ने प्रश्नले मतदातालाई झस्काएको छ । २०७० सालदेखि स्वतन्त्र मतदान गर्न नपाएका कतिपय मतदान केन्द्रका मतदातालाई यसपाली पनि मतदान गर्न पाईन्नकि? भन्ने चिन्ता छ । आम निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुले एकले–अर्कालाई निर्वाचन बिथोल्ने काम नगर्न चेतावनी दिन थालेका छन् । एमालेले गठबन्धनले बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाउन थालेको छ भने गठबन्धन दलले एमालेलाई बुथ कब्जा र अशान्ति सिर्जना गर्ने सपना नदेख्न चेतावनी दिएको छ ।

मंगलबार तामाकोशी गाउँपालिकामा आयोजित गठबन्धनको चुनावी सभामा नेपाली कांग्रेस दोलखा प्रदेश सभा १ का सभापति शुक्रराज तामाङले जाइनलाग्ने तर एमालेले निर्वाचन विथोल्ने गरी गुण्डा भित्र्याएर आइलाग्यो भने राती १२ बजे भएपनि भिड्न तयार हुन युवाहरुलाई निर्देशन दिएका छन् ।

यस्तै चुनावी अभियानका क्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँचदलीय सत्ता गठबन्धनले दोलखामा बुथकब्जा गर्ने तयारी गरेको आरोप लगाएका छन् । गठबन्धनले बुथकब्जा गरेर निर्वाचन जित्छु भनेर जनतामा भ्रम पैदा गरेको भन्दै उनले नेकपा एमाले दोलखाले यही निर्वाचनबाट बुथकब्जाको प्रयासलाई अन्त्य पार्ने चेतावनी दिएका छन् । दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको भएपनि त्यो सपना एमालेले पूरा हुन नदिने गुरुङको दावी छ ।

यस्तो छ, सुरक्षा तयारी

विगतका निर्वाचनलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले अतिसंवेदनशील मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पार्ने योजना सहितको तयारी थालेका छन् । विगतको घटनालाई ध्यानमा राख्दै विशेषगरी बैतेश्वर र तामाकोशी गाउँपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन दुई स्थानिय तहमा गरी ५० जना प्रहरीफोर्स परिचालन गरेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले पनि बैतेश्वर र तामाकोशीमा सशस्त्र प्रहरी निरीक्षक सन्तोष बानियाँको नेतृत्वमा ३० जनाको स्ट्राईकिङ फोर्स खटाएको छ ।

निर्वाचनमा बुथ कब्जाको घटना दोहोरिन नदिन तथा मतदातालाई स्वतन्त्र तरिकाले मतदान गर्ने व्यवस्था मिलाउन सो टोली खटाइएको जिल्लास्थित सुरक्षा निकायले बताएका छन् । दोलखाका ९४ वटा मतदान स्थलमध्ये ४१ वटा मतदानस्थल अति संवेदनसिल सूचिमा रहेका छन् ।