जिरी (दोलखा) । दोलखालाई मुख्य नाका बनाएर सुन तस्करी गर्ने चीनियाँ नेतृत्वको गिरोहले अवैध रुपमा यार्सागुम्बा लैजाने गरेको खुलेको छ ।
सुन तस्करी गर्ने चीनियाँ नेतृत्वको गिरोहले नेपालबाट भने चीनमा अवैध रूपमा बहुमूल्य यार्सागुम्बा लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । सुन तस्करीमै संलग्न व्यक्तिहरूलाई चिनियाँहरूले यार्सा गुम्बा ओसार्न लगाएको पाइएको छ । प्रहरी अनुसन्धानमा यार्सागुम्बा तस्करीको पनि पुष्टि भएको हो । तर, हालसम्म यार्सागुम्बा बरामद हुन सकेन । सुन सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले वनसम्बन्धी मुद्दा दायर गर्ने कि नगर्ने भन्नेमा टुंगो लागेको छैन । दोलखाको गौरीशंकर र विगु गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा पाइन्छ । तस्करीको सुन आयत गर्ने फलाक नाका पनि यही क्षेत्रमा अवस्थित छ । जुन दोलखाको उत्तरी क्षेत्रमा पर्दछ । सुन तस्करी गर्ने गिरोहबाटै यार्सागुम्बा तस्करी हुने गरेको भनिएपनि विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ ।
डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलाकबाट तस्करी भई आएको ११ किलो सुन प्रहरीले बरामद गरेको थियो । फलाकबाटै तस्करी भएर आएको बाँकी ४५ तोला सुन काठमाडौंको सुन पसलबाट बरामद गरिएको थियो । यार्सागुम्बा र सुन तस्करी गर्न लामाबगर क्षेत्रकै पक्राउ परेका केही स्थानीयले चिनियाँलाई सघाउ गरेको प्रहरीको ठहर छ । यो प्रकरणमा दोलखाको लामाबगरका मात्रै पेम्बा तामाङ, लालबहादुर तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केशर तामाङ लगायतका मानिसहरु पक्राउ परेका छन् ।
उनीहरुलाई तस्करीको मुख्य नाइकेले भरियाको रुपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । अन्य बाहिर जिल्लाका र चीनियाँ नागरिक पनि प्रहरीको हिरासतमा छन् । यो प्रकरणमा सिआइबीले समेत आफुहरुलाई अनुसन्धानमा सहयोग गरिरहेको र अनुसन्धानको प्रकृया अन्तिम चरणमा पुगेको दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिनुभयो । सुन प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरी–पैठारी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।