images
images

माथिल्लो तामाकोशी मर्मतमा अझै समय लाग्ने, एउटै वेशिनवाट बिद्युत उत्पादनको तयारी

दोलखा । बाढी पहिरोका कारण क्षतिग्रस्त राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको बिद्युत उत्पादन हुन अझै समय लाग्ने भएको छ ।

माथिल्लो तामाकोशीको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावर कम्पनीले तिहार अघि नैं क्षतिग्रस्त संरचनाको मर्मत गरी बिद्युत उत्पादन गर्ने भने पनि अझै काम नसकिएको हो । बाढी पहिरोले हेडवक्र्स क्षत्रको भित्री संरचनामा समेत क्षति गरेका कारण मर्मत सम्हारमा ढिलाई भएको जलबिद्युत केन्द्रले जनाएको छ ।

अपर तामाकोशी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले पहिरोका कारण आयोजनाको बाँधस्थल जाने सडक सुचारु गराउन समय लागेको र बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ वेशिन) र डिभाइड वालको भित्री भागसमेत ड्यामेज भएका कारण तलैवाट भत्काएर बनाउनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार हेडवक्र्स क्षत्रका संरचना र प्रसारण लाइनको मर्मत सम्हार गर्दा माथिल्लो तामाकोशीको बिद्युत उत्पादन हुन अझै कम्तिमा १० दिन लाग्ने छ ।

वेशिनको दायाँ भाग मर्मतमा समय लाग्ने

क्षतिग्रस्त संरचनाको मर्मतसम्हारको जिम्मा पाएको हाइ हिमालयन हाइड्रो कन्स्ट्रक्सन कम्पनीले डिस्याण्डर वेशिनको बाँयातर्फको भाग सफा गरिसकेको र एउटै वेशिनको प्रयोग गरेर बिद्युत उत्पादनको तयारी गरिएको अपर तामाकोशी हाइड्रो पावरले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार डिस्याण्डर वेशिनको वीच भागको पर्खाल लगाउने काम एक साताभित्र सकिने छ भने दायाँतर्फको वेशिन मर्मत सम्हार गर्न अझै समय लाग्ने छ । दायाँतर्फको बक्स कल्भर्ट र भित्री संरचनामा क्षति पुगेका कारण तलैवाट संरचना पुननिर्माण गर्नु पर्नेछ ।

हेडवर्कसका ढुंगा बिष्फोट गराएर हटाइयो

गत असोज १२ गते माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको लामाबगरस्थित हेडवक्र्स क्षेत्रमा लेदो सहितको पहिरो खस्दा दुई तले कन्ट्रोल विल्डिङ पुरिएको थियो । पहिरोले वालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर), बाँधस्थल भन्दा केही तल दाँयातर्फ रहेको नियन्त्रण कक्ष र बाँधबाट डिस्याण्डरसम्म पानी प्रवाह गर्ने भूमीगत नहर (कल्भर्ट) लगाएतका संरचनामा ठूलो क्षति पुगेको थियो ।

डिस्याण्डरमा खसेको ठूला–ठूला बोल्डर ढुँगालाई सचेतपूर्वक व्यवस्थापन गराइएको छ । जलबिद्युत केन्द्रका अन्य संरचनामा थप क्षति पुग्ने भएका कारण बिष्फोट गराउँदा ठूला ढुँगामा ड्रिल गरी केमिकल राखेर टुक्रा–टुक्रा अर्थात ‘क्रयाक् माईट’ गरी व्यवस्थापन गरिएको अपर तामाकोशी हाइड्रो पावरले जनाएको छ । पहिरोका कारण अवरुद्ध भएको गोंगरदेखि लामावगरसम्मको सडकमार्ग र डिस्याण्डरमा खसेका बोल्डर ढुँगालाई बिष्फोट गराएर हटाउन अनुमति लिने क्रममा लामो समय लागेका कारण पनि मर्मतसम्हारमा ढिलाई भएको प्रवद्र्धक कम्पनीको दावी छ ।

रोल्वालिङकै दररेटमा हाइ हिमालयनलाई ठेक्का

अपर तामाकोशी हाइड्रो पावरले क्षतिग्रस्त संरचना पुननिर्माणको काम हाइ हिमालयन हाइड्रोलाई दिएको छ । अपर तामाकोशीले निर्माण गरिरहेको रोल्वालिङ खोला जलबिद्युत आयोजनाको सिभिल संरचना निर्माणको काम गरिरहेको हाइ हिमालयनलाई सोही आयोजनाको ‘डे वक्र्स दररेट’ मा काम दिएको अपर तामाकोशीले जनाएको छ ।

पहिरोको कारण क्षतिग्रस्त भएको माथिल्लो तामाकोशीको प्रसारण लाइन अन्तर्गतको ४६ नम्बरको टावर मर्मतसम्हार कार्य पनि भइरहेको छ । टावर मर्मतको काम पनि एक साताभित्र सक्ने तयारी छ । अपर तामाकोशी हाइड्रो पावरले राष्ट्रिय विमा कम्पनीसँग माथिल्लो तामाकोशीमा बाढी पहिरोले भएको क्षतिको १ अर्व ७८ करोड क्षतिपूर्तिको दावी गरेको छ ।

बिद्युत उत्पादन नहुँदा करोडौं नोक्सानी

भारी बर्षापछि सम्भावित खतरालाई मध्यनरज गर्दै दोलखाको लामावगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको बिद्युत उत्पादन असोज ११ गते नैं बन्द गरिएको थियो । त्यसको भोलिपल्ट हेडवक्र्स क्षत्रमा खसेको लेदोसहितको पहिरोले करिव २ अर्व बराबरको क्षति गरेको हो । त्यसयता माथिल्लो तामाकोशीवाट बिद्युत उत्पादन हुन सकेको छैन ।

आयोजनाको बिद्युत उत्पादन बन्द हुँदा मासिक ६५ करोडदेखि १ अर्व २० करोडसम्म नोक्सानी हुने गरेको छ । आयोजना बन्दा हुँदा बर्षा याममा १ अर्व २० करोड र हिउँद याममा ५० देखि ६५ करोडसम्म नोक्सानी हुने अपर तामाकोशी हाइड्रो पावरले जनाएको छ ।