images
images

भिजिट भिसामा विदेश गएर काम गरिरहेका नेपालीले श्रम स्वीकृति पाउने

  • २६ कार्तिक २०८१, सोमबार १८:२७

काठमाडौँ । विभिन्न मुलुकमा भिजिट भिसामा गएर उतै काम गरेर बसेका नेपालीहरुले श्रम स्वीकृति पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत सेप्टेम्बरसम्म भिजिट भिसामा गएर नफर्किएका नेपालीहरुलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । नेपालबाट श्रम स्वीकृति नलिई विदेश गएका नेपालीहरुलाई दुतावासमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाईएको मन्त्रालयले जनाएको छ ।

जसअनुसार गन्तव्य देशले वैधानिकता दिईसकेका नेपाली श्रमिकहरुले नेपालबाट पनि श्रम स्वीकृति पाउने भएका हुन् । त्यसरी विदेश जाने नेपालीको यकिन विवरण मन्त्रालयसँग नभएपनि कम्तिमा तीन लाख नेपाली श्रम स्वीकृतिको दायराभित्र आउने अनुमान गरिएको छ । नेपाली दुतावासहरुका अनुसार सबैभन्दा बढि संयुक्त अरब ईमिरेट्स (युएई) मा करिव दुई लाख नेपाली रहेका छन् भने कुवेत, साउदी अरब र ओमानमा कार्यरत घरेलु श्रमिकहरु पनि श्रम स्वीकृति विहिन छन् ।

पारिवारिक पुर्नमिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाको दायराभित्र ल्याउनका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । त्यस्ता कामदारहरुलाई नेपाल आएर पुनः सोही रोजगारदातासँग काम गर्नका लागि श्रम स्वीकृति आवश्यक पर्दछ भने श्रम स्वीकृति नभएका श्रमिकले वैदेशिक रोजगार बोर्डबाट दिँदै आएको कल्याणकारी सुविधा समेत नपाउने कानुनी व्यवस्था छ । हाल बोर्डले श्रमिक मृत्युभएका आश्रित परिवारलाई १० लाख र बिमा वापत १४ लाख रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।

मन्त्रालयका अनुसार दुतावासमा बायोमेट्रिक प्रणाली जडान भएलगत्तै श्रम स्वीकृति प्रदान गर्न सुरु गरिनेछ ।