images
images

दोलखामा दुई दिनदेखि विधुत अवरुद्ध, सेवाग्राही मारमा

  • २५ मंसिर २०७९, आईतवार ०८:२७

जिरी (दोलखा) । दोलखामा हिजोदेखि विद्युत अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

जिल्लाभर हिजो बिहान करिब ११ बजेदेखि विद्यतु अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका हुन् । लामोसाँघु प्रसारण लाइनबाटनै विद्युत प्रवाह बन्द भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका सुचना अधिकारी राजेन्द्र चौधरीले जानकारी दिनुभयो । यद्धपी, के कारणले विद्युत काटिएको भन्नेबारे आधिकारिक जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो । प्रसारण लाइनमा समस्या आएपछि विद्युत प्रवाह रोकिएको हुन सक्ने दोलखा वितरण केन्द्रले जनाएको छ । हिजोदेखि जिल्लाभर विद्युत अवरुद्ध भएपनि विद्युत प्रवाहमा आएको ठोस समस्याका बारेमा प्राधिकरणनै बेखबर रहेको देखिएको छ । हिजो बेलुकी भने ढल्केबर प्रसारण लाइनको विद्युत प्रवाह भएको थियो । प्राधिकरणका अनुसार २२० केभीको ढल्केबर प्रसारण लाइनबाट बेलुकी विद्युत प्रवाह गरिएको हो । तर, पुनः आज बिहानै देखि अवरुद्ध भएको छ ।

विद्युत आपुर्ति ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् भने विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, सँघ संस्था र वैंक तथा वित्तिय संस्थाहरुको सेवा प्रवाहमा समस्या भएको छ । साथै, जिल्लास्थित कतिपय रेडियो लगायतका विद्युतीय सञ्चारमाध्यम समेत वन्द हुने अवस्थामा पुगेको छ ।