दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका शीर्षस्थ नेताहरुलाई दोलखामा स्वागत गरिएको छ ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ कार्यक्रम अन्र्तगत अध्यक्ष ओली सहितका एमालेका शिर्षस्थ नेताहरुलाई दोलखामा स्वागत गरिएको हो । अध्यक्ष ओलीको साथमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्ठलक्ष्मी शाक्य, विष्णु पौडेल लगायतका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको छ । एमाले अध्यक्ष ओली सहितका केन्द्रिय नेताहरु आज काभ्रेपलाञ्चोक हुँदै दोलखा आएका हुन् । अध्यक्ष ओली खरिढुंगामा खाना खाई चर्नावतीमा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ । सो भेटघाटपछि वडा नम्बर ६ ले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाई सदरमुकाम चरिकोट आईपुग्नुभएको हो । अध्यक्ष ओली सदरमुकाम चरिकोट स्थित कुवेर होटल अगाडि रोकेर बिभिन्न सांस्कृतिक झाँकी सहित सातदोबाटोमा आयोजित जनसभामा सहभागी हुनुभएको थियो ।
उहाँ दिउँसो १ बजे दोलखा सदरमुकाम चरिकोट आइपुग्ने कार्यतालिका रहेपनि बेलुकी ५ बजे मात्र आईपुग्नुभएको हो । उहाँको प्रतिक्षामा एमाले नेता तथा कार्यकता र समर्थक चिसोमा कठ्याङ्ग्रिएर बसेका थिए ।










