images
images

नेपालमा कोरोना संक्रमण तिव्रः ९३ जना आईसियु र १९ जना भेन्टिलेटरमा

काठमाडौं । नेपालमा पछिल्लो समय तिव्र गतिमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तीन दिनको तथ्यांक विश्लेषण गर्दा दिनहुँ संक्रमण दोब्बरले वृद्धि हुन थालेकोे हो । विश्वभर ओमिक्रोन भेरियन्ट संक्रमण तिव्र रुपमा फैलिदै गइरहेका बेला नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

मुलुकमा पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा दोब्बर बढि संक्रमित भेटिएकोे तथ्यांकले देखाएको छ । सोमबार १४ सय बढि संक्रमित भेटिएकोमा मंगलबार मात्रै २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो तथ्यांक हेर्दा पनि संक्रमितको संख्या एकैदिन दोब्बर हुन पुगेको छ । मंगलबार मुलुकमा पिसिआर परीक्षणबाट १ हजार ९ सय ८१ जना र एन्टिजेन परीक्षणबाट ४ सय ६३ जना गरी २ हजार बढि संक्रमित थपिएका हुन् । त्यो भन्दा अघिल्लो दिन नेपालमा १ हजार ४ सय ४६ जनामा कोरोेना संक्रमण पुष्टि भएको थियो । सो दिन नेपालमा ८ हजार ९ सय ६५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८९ जना गरी १४ सय बढि संक्रमित भेटिएका थिए ।

अस्पतालमा बढ्यो बिरामीको चाप

साताको पहिलो दिन आइतबार ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो । हाल कोरोना संक्रमतिको संख्या करिब १० हजार पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ । जसमध्ये ८ हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयु र १९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोना संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ । सबै अस्पतालहरुमा एक साता अघिभन्दा दोब्बर संख्यामा विरामीहरु भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडको संक्रमण बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन

कोरोना संक्रमण तिव्र बन्दै गएपछि काठमाडौं उपत्यकामा पनि गएराति १२ बजेबाट स्मार्ट लकडाउन लागू गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले १८ बुँदे निर्देशन जारी गरेका हुन् । आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि अनुसार आदेश जारी गरिएको तीन वटै जिल्ला प्रशासन कार्यालयको भनाई छ । स्मार्ट लकडाउन लागु भएसँगै मास्क नलगाएकाले सार्वजनिक सवारी साधन चढ्न नपाउने भएका छन् । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने र अनिवार्यरुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने आदेश जारी भएको छ ।

यसैबीच, काठमाडौँ उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढि भेला हुन रोक लगाइएको छ । कुनै पनि सभा, भेला, जुलुस लगायत भिडभाड हुने कार्य रोक्ने उल्लेख गरिएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ भने होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रामा खोप लगाएको प्रमाण अनिवार्य गरिएको छ ।