images
images

दोलखामा पनि २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने

  • २८ पुष २०७८, बुधबार १०:३५

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले २५ जनाभन्दा बढि भेला हुन रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले आज आदेश जारी गर्दै २५ जना भन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु एवम् सामाजिक गतिविधि नगर्न आदेश जारी गर्नुभएको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा आज बसेको स्थानीय प्रशासनको बैठकले अर्काे सूचना जारी नभएसम्म लागु हुनेगरी यस्तो आदेश जारी गरेको हो । यस्तै माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरुमा खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयहरुमा १२ देखि १७ वर्ष समुहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाई सक्ने व्यवस्था मिलाउन भनिएको छ ।

सरकारको निर्णय बमोजिम २०७८ साल माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने र पुर्व निर्धारित सेमेष्टर तथा वार्षिक परिक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै जिल्ला भित्रका सरकारी निजी, स्वास्थ्य संस्था तथा स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुद्धढ गरी सञ्चालनमा ल्याउन आदेश जारी भएको छ ।

यसैगरी, औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मुल्य वृद्धि गर्ने, लुकाउने, सहज आपुर्तिमा अवरोध गर्ने उपर कानुन बमोजिम कारवाही गरिने प्रजिअ निरौलाले जानकारी दिनुभयो । स्थानीय प्रशासनले कोभिड १९ को संक्तमण नियन्त्रणका लागि जारी भएका आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने चेतावनी समेत दिएको छ ।