images
images

सरकारले २ खर्ब ४४ अर्ब बजेट घटायो, नयाँ कार्यक्रम नल्याउने

  • २९ माघ २०७९, आईतवार १६:०१

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समिक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडले १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गर्नुभएको हो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले यो वर्षका लागि १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट पेश गर्नुभएको थियो । तर उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधि समक्षिा गर्दै चालु आर्थिक वर्षको बजेट आकार घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले चालु खर्त ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताउनुभयो ।

यस्तै पुँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैँयामा झारिएको छ भने वित्तिय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड छुट्याइएकोमा २ खर्ब १४ करोड मात्रै छुट्याइएको छ । अर्थमन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य पनि घटाउनुभएको छ । गत जेठ १५ मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैँया राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर अहिले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

नयाँ कार्यक्रम नल्याउने
सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने बताउनुभएको हो । अर्थमन्त्रालयबाट स्रोत सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहेका आयोजनाहरुको पुनः प्राथमिकिकरण गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

त्यस्ता आयोजना कार्यान्वयनमा लैजानुपुर्व सम्बन्धीत मन्त्रालयले पुनः अर्थमन्त्रालयको सहमति लिनुपर्नेछ । हालसम्म मापदण्ड, कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रम पुर्ण वा आंशिक रुपमा स्थगित गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।