काठमाडौं । सरकारले चालू आर्थिक वर्षको २ खर्ब भन्दा बढी बजेट घटाएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा सिमित बनाउनुभएकोे हो । आम्दानीको स्रोत घटेको र खर्च गर्न समेत नसकेकाले लक्ष्य घटाइएको मन्त्री महतले बताउनुभयो । यो सँगै चालू आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत खर्च हुने भएको हो । चालूतर्फ ८८ दशमलव ८४ प्रतिशत, पूँजीगततर्फ ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ ।
चालू आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने अर्थमन्त्री महतले उल्लेख गर्नुभयो ।










