
दोलखा । दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण गर्ने पुरुष अझै पक्राउ पर्न सकेका छैनन् ।
शिक्षिका तामाङमाथि आक्रमण र खुकुरी प्रहारको प्रयास गर्ने भीमेश्वर नगरपालिका–५ का सुन्दर अधिकारी अझै पक्राउ पर्न नसकेका हुन् । दिनदहाडै खुकुरी लिएर आतंक फैलाउने व्यक्ति घटनाको तीन दिन वितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन् ।
घटना भएकै दिन प्रहरीमा किटानी जाहेरी दिएपनि पक्राउ पर्न नसक्दा आँफुहरु त्रसित भएको पीडित परिवारजनले बताएका छन् । शिक्षिका तामाङले कुटपिट भएकै दिन सोमबार नै जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएकी थिईन् ।
दोलखा प्रहरीले भने शिक्षिमाथिका कुटपिट गर्ने र खुकुरी देखाएर आतंक मच्चाउने युवकको खोजी भईरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले फरार युवक चाँडै पक्राउ पर्ने दावि गर्नुभयो ।
शिक्षिका तामाङलाई सोमबार बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा उनकै फुपुको छोराले आक्रमण गरि खुकरी प्रहारको प्रयास गरेका थिए । शिक्षिका तामाङका अनुसार हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेका थिए । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले बाटोमा ढुकेर मुद्धा फिर्ता लिन दवाव दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङको भनाई छ ।