images
images

काब्रेको उनियाचौरको सिंगो गाउँ एमाले परित्यागगरी माओवादी केन्द्रमा प्रवेश

  • २८ फाल्गुन २०७८, शनिबार १५:०२

वैतेस्वर (दोलखा) । दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ४ काब्रको एउटा सिंगै गाउँवासी नेकपा एमाले परित्यागगरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

वैतेस्वर गाउँपालिका वडा नम्बर ४ साविक काब्रे गाविसको उनियाचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा आज प्रवेश गरेका हुन् । उनियाचौर निवासी निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसैगरी पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाल लगायत रहेका छन् । पार्टी प्रवेश गर्नेमा उनियाचौर बस्तिका ३० घरपरिवारका ४९ जना रहेका छन् । काब्रेकै च्यानेका अमृतवहादुर तामाङ र वैतेस्वर २ माझगाउँका उमेश घिसिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादीका जिल्लास्तरीय र गाउँपाकिलास्तरीय नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् । उनियाचौर बस्तिका सवै नागरिक एमाले परित्याग गरी माओवादीमा प्रवेश गर्ने भएपछि मन्त्री खड्का स्वयँ गाउँवस्तिमै पुगेका थिए । केही दिनअघि मात्रै सोही स्थानका टंकपसाद लामिछाने नेपाली कांग्रेस परित्यागगरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यस लगत्तै उनियाचौरको सिंगै गाउँ माओवादी केन्द्रमा प्रवेश गरेको हो । माओवादीमा प्रवेश गर्दै स्थानीय हरिलाल लामिछानेले एमालेमा निकै लामो समयसम्म योगदान गरेपनि मुल्याँकन नभएका कारण माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा माओवादी केन्द्रका युवा नेता एवँ मन्त्री खड्काले वैतेस्वरको विकास र समृद्धिलाई आफुले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । माओवादी केन्द्र वैतेस्वर ४ का वडा संगठन समिति अध्यक्ष भरत ढुँगेलको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्का, वैतेस्वर गाउँपालिका संगठन समितिका अध्यक्ष भिमवहादुर श्रेष्ठ, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिन घिमिरे लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । वैतेस्वर गाउँपालिकामा बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ ।