
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने घोषणा गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै षडयन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नका लागि खबरदारी गर्ने घोषणा गर्नुभएको हो । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक अधिकारको रक्षाका लागि जुनसुकै बेला काठमाडौँ केन्द्रित आन्दोलन हुनसक्ने चेतावनी दिनुभयो ।
सरकारका खराब क्रियाकलापका कारण प्रतिगामी शक्तिको चलखेल बढेको भन्दै अध्यक्ष प्रचण्डले लाखौँ जनता काठमाडौँमा उतार्नेगरि आन्दोलनको अपिल हुनसक्ने भएकाले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । जनयुद्धको बलमा प्राप्त अधिकार र उपलव्धी उल्टाउने प्रयास भईरहेकाले त्यसलाई जोगाउन नयाँ राष्ट्रिय आन्दोलन आवश्यक रहेको उहाँको भनाई छ ।
सबै षडयन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै भएको भन्दै अध्यक्ष प्रचण्डले विचलित नहुन आग्रह गर्नुभयो ।