images
images

नयाँ वर्षमा हनुमन्तेमा भव्य मेला लाग्दै, यस्तो छ आकर्षण (तस्विरसहित)

जिरी (दोलखा) । दोलखाको तीन स्थानीय तहको सिमामा पर्ने धार्मिक एवम् पर्यटकीय स्थल हनुमन्तेमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ ।

जिल्लाको बैतेश्वर र गौरीशंकर गाउँपालिका तथा जिरी नरपालिकाको सीमामा पर्ने हनुमन्तेमा २०७८ सालदेखि नेपाली नयाँ वर्ष बैशाख १ गते मेला लाग्न थालेको हो । गत बैशाखमा भने कोरोना महामारी लगायतका कारण मेला लागेको थिएन । तर, २०८० सालको सुरुवात बैशाख १ गते नयाँ वर्षमा भव्य हनुमन्ते मेला लाग्ने भएको छ । त्यसको लागि सबै तयारी पूरा भएको हनुमन्तेश्वर पर्यटन पूर्वाधार विकास तथा मेला आयोजना समितिका अध्यक्ष नुर्वु शेर्पाले जानकारी दिनुभयो । हनुमन्ते क्षेत्रलाई २०७८ सालमा पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिएको थियो । हनुमन्तेलाई दोलखाको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने क्रममा २०७८ साल बैशाख १ गते हनुमन्ते पर्यटन क्षेत्र घोषणा गरिएको हो ।

२०७८ सालमा बागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्का र बागमती प्रदेशसभाका तत्कालीन सांसद स्वर्गीय पशुपति चौलागाईले संयुक्त रुपमा हनुमन्ते पर्यटकीय क्षेत्रको उद्घाटन गरेका थिए । २०७८ सालमा हजारौंको संख्यामा पर्यटक तथा दर्शनार्थी हनुमन्ते पुगेका थिए । यो पटक पनि मेलामा २५ जना भन्दा बढी झाँक्रीहरुबाट झाँकी नाच प्रर्दशन, राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती, शेर्पा श्यार्बो नृत्य, पञ्चेबाजामा नृत्य प्रस्तुती, स्थानीय दोहोरी प्रतियोगिता, स्थानीय नृत्य प्रतियोगिता र विभिन्न क्लब तथा समूहहरुको वनभोज कार्यक्रम लगायतको कार्यक्रम हुने हनुमन्तेश्वर पर्यटन पूर्वाधार विकास तथा मेला आयोजना समितिका सचिव तेञ्जिङ शेर्पाले जानकारी दिनुभयो । मेला हनुमान मन्दिर परीशर, हनुमन्ते डाँडा मेले खावा डाँडाबाट ३ किलोमिटर माथि लाग्नेछ ।

हनुमन्तेको धार्मिक एवम् पर्यटकीय आकर्षणहरु

हनुमन्ते दोलखाको पर्यटकीय एवम् धार्मिक गन्तव्य मध्येको एक रमणीय गन्तव्य हो । यो क्षेत्र निकै रमणीय र मानिसहरुलाई भ्रमणमा जाँदा स्वर्गीय आनन्द दिलाउने स्थानको रुपमा रहेको छ । हनुमन्तेडाँडा पुग्ने पर्यटक तथा दर्शनार्थीले त्यहाँबाट दोलखाको अधिकांश रमणीय डाँडाकाडा, हिमशृङखला र विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सक्छन् । विगतमा हनुमन्तेको खासै चर्चा नभएपनि शैलुङ, कालिञ्चोक जस्तै हनुमन्ते पनि उच्च पहाडी क्षेत्रमा रहेको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । परापूर्वकालमा हनुमन्तेमा हनुमानको मूर्ति रहेको र उच्च पहाडी क्षेत्रको रमणीय स्थलमा हनुमन्ते रहेकोले सो क्षेत्रको छुट्टै महत्व रहेको छ । सोही कारण पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालिएपछि यो क्षेत्र पछिल्लो पटक अमूल्य र आकर्षणको केन्द्र बन्दै गएको छ । रापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैँ उत्पत्ति भएको किंवदन्ती छ । विगतमा हनुमन्तेमा हनुमानको मूर्ति रहेपनि सो स्थानको मूर्ति पछि हराएको थियो । रामायण कथाअनुसार भगवान लक्ष्मणको उपचारका लागि जडिबुटीको खोजीमा निस्केका रामभक्त हनुमानले सञ्जीवनीको बुटी खोज्ने क्रममा सिंगो पहाडनै बोकेर लगेको धार्मिक विश्वास छ ।

वैत्येश्वर गाउँपालिक, जिरी नगरपालिका र गौरीशंकर गाउँपालिकाको संगमस्थलमा अवस्थित हनुमन्ते डाँडामा गुफा र हनुमानको मूर्ति छ । आफैं उत्पत्ति भएका हनुमानको मूर्ति केही वर्षअघि चोरी भएको थियो । सो स्थानमा हाल नयाँ मूर्ति स्थापना गरिएको छ भने मूर्ति नजिकै गुफामा शिवलिंग छ । शिवलिंगमाथि गाईका थुन आकारको मूर्ति छ त्यहाँबाट जल वर्षा भइरहन्छ । धार्मिक विश्वास राख्ने र प्रकृतिसँग लुकामारी गर्नेहरुको लागि हनुमन्ते एक आकर्षणको महत्व बोकेको केन्द्रको रुपमा रहेको छ । हनुमन्तेमा अहिले नयाँ मूर्ति स्थापना, सिँढी निर्माण, खानेपानीको व्यवस्था र खावा बजारबाट हनुमन्तेसम्म पुग्ने सडकबाटोको स्तरोन्नति गरिएको छ । हनुमन्ते समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा पर्दछ ।

खासगरी बागमती प्रदेशका  पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्काको अगुवाईमा हनुमन्तेको एकिकृत विकासका लागि बजेट र योजना परेपछि धमाधम पर्यटन पूर्वाधार निर्माणको काम भएको छ । केही वर्षयता हनुमन्ते र खावा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेगरी प्रदेश सरकारबाट वर्षेनी फरक–फरक योजनाको लागि बजेट विनियोजन भएर पूर्वाधारहरु निर्माण भइरहेको छ । बागमती प्रदेशकै बजेटबाट हनुमन्तेसम्म सडक बिस्तारको काम भएपछि विस्तारै पूर्वाधार विकासको योजना थप हुँदै गएको हो । हनुमन्ते क्षेत्रलाई आकर्षक बनाउने योजना अन्र्तगत खावा बजारदेखिनै पर्यटकीय पूर्वाधारहरु थपिँदै लगिएको छ ।

धार्मिक र पर्यटकीय दृष्टिले निकै रमणीय हनुमन्ते डाँडा र खावा बजारमा पूर्वधारहरु थपिएसँगै यसको आकर्षण पनि बढ्दै गएको छ । नयाँ वर्ष २०८० सालको पहिलो दिन हनुमन्ते मेलामा करिब पाँच हजार आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ ।

हनुमन्ते मेला २०७८ का तस्विरहरुः