
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ ।
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो । विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को परीक्षा स्कुलस्तरमै गर्न सहमति जुटेको हो । विधेयकमाथि कतिपय सांसदले एसईई प्रदेशमा हस्तान्तरण गर्न संशोधन हालेका थिए ।
प्रदेशलाई दिने विषयमा पनि उपसमितिमा छलफल भएको थियो । तर, एसईई नराख्न उपसमितिमा सहमति जुटेको हो । यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति जुटेको छ । ईसीडीलाई २ वर्षको बनाउने पनि सहमति जुटेको छ । तर, उपसमितिमा सहमति भएका विषय सार्वजनिक गरिएको छैन । यद्धपी, विधेयकमाथि उपसमितिमा लगातार छलफल भइरहेको छ ।
प्रदेश प्रदेशबाट आएको सुझाव, सांसदको संशोधन,विज्ञका सुझाव सबैलाई एकीकृत गरेर दफावार छलफल भइरहेको उपसमितिले जनाएको छ । आज पनि उपसमितिको बैठक बस्दै छ । शिक्षकहरूले ऐन जारी गर्न माग गरेपछि उपसमितिले द्रुत गतिमा छलफल गरिरहेको हो । उपसमितिका अनुसार शिक्षकका विषयमा छलफल गर्न बाँकी छ ।
सरकार र शिक्षक महासंघबीच वार्ता भए पनि सहमति जुटेको छैन । गत चैत २० गने देखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।