भक्तपुर । बागमती प्रदेशमा भएका १४ वटा मन्त्रालय मध्ये घटाएर ८ वटामा झार्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
अबको दुई साताभित्र मन्त्रालयको संख्या घटाइसक्ने गरी काम भइरहेको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको वर्तमान सरकारले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने गृहकार्य गरिरहेको छ ।
यसका लागि सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबिच केही दिन अघि भएको छलफलमा मन्त्रालयको सङ्ख्या घटाउने विषयमा सहमति जुटिसकेको छ ।
८ वटा मन्त्रालय मात्र
पूर्वसचिव विमल वाग्ले संयोजक रहेको विज्ञ टोलीले गत फागुन २७ मा बुझाएको प्रतिवेदनमा मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय मात्र आवश्यक रहेको औँल्याएको थियो । सोही प्रतिवेदनलाई आधार मान्दै सरकारले प्रशासनिक खर्च कटौती र चुस्त प्रशासनका लागि ७०१ जना कर्मचारीको दरबन्दी कटौती गर्ने प्रस्तावसमेत अघि सारेको छ ।
५ वटा निर्देशनालय खारेज
सरकारको तयारी अनुसार प्रदेशका ७ वटा निर्देशनालयमध्ये कृषि विकास निर्देशनालय र स्वास्थ्य निर्देशनालयलाई मात्र कायम राखेर ५ वटा निर्देशनालय खारेज गरिनेछ । प्रदेशमा रहेका विभिन्न बोर्ड र अनावश्यक संरचनाहरूलाई पनि हटाउने विज्ञ टोलीको सुझाव छ ।
यी मन्त्रालय हट्ने
प्रदेशमा हाल कायम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, युवा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय हटाउन विज्ञ समितिले सुझाव दिएको छ ।
१५ दिनभित्र हटाइसक्ने
सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री प्रभात तामाङका अनुसार सत्ता साझेदार दलहरूबिच मन्त्रालय संख्या र प्रशासनिक संरचना हेरफेरमा एकमत रहेकाले अबको १५ दिनभित्र प्राप्त हुने प्राविधिक सुझावका आधारमा पुनर्संरचनाको कामले पूर्णता पाउनेछ ।










