images
images

मन्त्रीहरूको सम्पत्तिः ८९ तोला सुनदेखि १५ करोडको संस्थापक सेयर र घरजग्गादेखि अर्पाटमेन्टसम्म

भक्तपुर । बालेन शाह नेतृत्वको सरकारको मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहसहित अन्य मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो । सार्वजनिक विवरण अनुसार मन्त्रीहरूसम्मको आर्थिक हैसियतमा निकै विविधता देखिएको छ ।

प्रधानमन्त्री बालेनको बैंक खातामा १ करोड ४४ लाख रुपैयाँ नगद मौज्दात रहेको छ, जसको मुख्य स्रोतका रूपमा उनले आफ्ना सामाजिक सञ्जालहरू (फेसबुक, युट्युब, टिकटक) बाट हुने आम्दानीलाई वैधानिक रूपमा दर्ता गराएका छन् ।

उनको अचल सम्पत्तिको हकमा धनुषामा घर र महोत्तरीमा ९ बिघा पैतृक जग्गा रहेको छ भने श्रीमती सबिना काफ्लेको नाममा १९० तोला पैतृक सुन रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वाग्ले धनी 

मन्त्रिमण्डलमा सबैभन्दा धनी मन्त्रीका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले देखिएका छन् । उनको विवरण अनुसार ललितपुर र काभ्रेमा करोडौँ मूल्यका अपार्टमेन्टहरूका साथै काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी जग्गा र तनहुँ तथा गोरखामा अन्य विभिन्न घरजग्गाहरू रहेका छन् ।

वाग्लेको बैंक मौज्दात १ करोड ९० लाख रुपैयाँ रहेको छ भने विभिन्न हाइड्रोपावर र बैंकहरूको सेयरमा उनको ४ करोड ५० लाख रुपैयाँभन्दा बढीको लगानी रहेको छ, जुन उनले अन्तर्राष्ट्रिय रोजगारी र निजी लगानीबाट आर्जन गरेको जनाएका छन् ।

गृहमन्त्रीसँग सुन मात्रै ८९ तोला, करोडौंको शेयर

उता गृह मन्त्री सुधन गुरुङको सम्पत्ति विवरणले पनि निकै चर्चा पाएको छ, जहाँ उनको परिवारको नाममा ८९ तोला सुन रहेको देखिन्छ । गुरुङको अचल सम्पत्तिमा चितवन र झापामा गरी करिब ७ बिघा खेतीयोग्य जमिन रहेको छ भने विभिन्न सहकारी संस्थाहरूमा १५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर रहेको विवरणमा खुलाइएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्री शिशिर खनालको विवरणमा २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद मौज्दात रहेको छ । खनालको ३० भन्दा बढी विभिन्न कम्पनीहरूमा सेयर लगानी र ५५ लाख रुपैयाँ व्यक्तिगत ऋण लगानी रहेको देखिएको छ, जसले उनी व्यावसायिक रूपमा निकै सक्रिय रहेको पुष्टि गर्छ । अन्य मन्त्रीहरुको भने यी मन्त्रीहरुको तुलनामा कम सम्पति रहेको पाईएको छ ।