images
images

दोलखामा स्थानीय तह निर्वाचनका लागि २३ सय सुरक्षाकर्मी परिचालन

  • २९ बैशाख २०७९, बिहीबार ०७:४९

दोलखा । दोलखामा स्थानीय तह निर्वाचनको सुरक्षाका लागि दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहमा २ हजार ३ सय जना सुरक्षाकर्मी परिचालन गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो । निर्वाचनका लागि ५ सय ८२ नेपाल प्रहरी, ९ सय ४२ जना म्यादी प्रहरी खटिनेछन् भने बाँकी सशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन् । मतदानस्थल, मतदाता र बुथ सुरक्षाका लागि आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी अवस्था पहिचान गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ खतिवडाले बताउनुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखामा ९ वटा मात्रै मतदानस्थल अति संवेदनशील सुचीमा रहेकोमा आसन्न निर्वाचनका लागि ३२ वटा थप गरी ४१ वटा मतदानस्थल अति संवेदनशील सुचीमा परेका छन् । केन्द्रिय सुरक्षा समितिले दोलखामा विगतमा भएका निर्वाचनलाई समिक्षा गर्दै ९४ वटा मतदान स्थल मध्ये ४१ वटा मतदान स्थललाई अति सँवेदनशिल, ३७ वटालाई संवेदनशील र १६ वटा मतदान स्थललाई सामान्य सुचीमा राखेको छ । त्यसमध्ये अति संवेदनशिल मतदानस्थललाई बढी प्राथमिकतामा राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा पौडेलले सुरक्षा व्यवस्थालाई मजबुद बनाई शान्तिपुर्ण तबरले मतदान गर्ने व्यवस्था गर्न मतदान केन्द्रको अवस्था हेरेर सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जिल्लाका ९४ वटा मतदानस्थलका १ सय ९३ मतदान केन्द्रमा मतदान हुँदैछ । जिल्लाभर १ लाख ६० हजार ९६ जना मतदाताले मतदान गर्नेछन् ।