रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका एक पुरुषलाई कुटपिट गरि गम्भिर घाईते बनाएका छन् ।
गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका यमबहादुर कार्कीलाई एमालेका कार्यकर्ताले कुटपिट गरी गम्भिर घाईते बनाएका हुन् । एमालेका कार्यकर्ताहरु रविन सुनुवार, वबि सुनुवार र शिव सुनुवारले बाँसको भाटाले कुटपिट गर्दा उनको टाउको र घुँडामा गम्भिर चोट लागेको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । कुटपिटबाट गम्भिर घाईते भएका कार्कीलाई गोकुलगंगा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । कार्कीमाथि कुटपिट गर्ने एमालेका कार्यकर्ताहरु भने फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।