
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एमाले र कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप हुँदा एक पुरुष घाईते भएका छन् ।
झडपमा परी कांग्रेसका कार्यकर्ता तामाकोशी गाउँपालिका वडा नम्बर ३ छौंडेका दिपक पोखरेल घाईते भएका हुन् । उनलाई नेकपा एमालेका वडासदस्यका उम्मेदवारले खुकुरी प्रहार गरी घाईते बनाएको बताइएको छ । एमालेको तर्फबाट वडासदस्य पदमा उम्मेदवार बनेका कृष्ण बहादुर तमाङले आज साँझ खुकुरी प्रहार गर्दा कांग्रेसका कार्यकर्ता पोखरेल घाईते भएको बताइएको छ । खुकुरी प्रहारबाट घाईते भएका पोखरेलको दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति चौंलागाईस्मृति अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपि) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो । घाईते पोखरेलको घुँडामा गम्भिर चोट छ । एमालेको तर्फबाट वडासदस्यको उम्मेदवार बनेका तमाङको घरमा बाहिरी जिल्लाका मानिसहरु ल्याएर राखेको थाहा पाएपछि गठबन्धनका नेताकर्ताहरु उनको घरमा पुगेका थिए ।
सोही क्रममा बाहिरी जिल्लाका मानिसहरुले ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप भएको थियो । दोहोरो झडपका क्रममा वडासदस्यका उम्मेदवार तमाङले पोखरेलमाथि खुकुरी प्रहार गरेको बताइएको छ । घटना लगत्तै प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा डिएसपी सहितको टोली खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय तह निर्वाचन विथोल्ने प्रयोजनका लागि एमालेले बाहिरी जिल्लाबाट करिव १० जना युवाहरु ल्याएर लुकाएको हुनसक्ने आशंकाका बिच दुईपक्षिय झडप भएको हो ।