जनकपुर । नेकपा माओवादी केन्द्र र एमालेका मन्त्रीहरुले राजिनामा दिएपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकार ढल्ने भएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेले दिएको समर्थन फिर्ता लिएपछि सरोजकुमार यादवको मुख्यमन्त्री पद संकटमा परेको हो । एमालेबाट मन्त्री बनेका ६ जना र माओवादी केन्द्रबाट सरकारमा सहभागि भएका दुई मन्त्रीले आज राजिनामा दिएका हुन् । मन्त्रीहरुको राजिनामासँगै दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । एमलेका मन्त्रीहरु सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापाले राजिनामा दिएका हुन् । मधेसमा माओवादी केन्द्रका विनाविभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले पनि आजै राजीनामा दिएका छन् । केन्द्रको निर्देशन अनुसार पार्टी सरकारबाट बाहिरिएको र सोहीअनुसार आज आफुुहरुले राजिनामा दिएको भट्टराईले बताएका छन् ।
मधेश प्रदेश सरकारको सत्तारुढ दल माओवादी र एमालेले संयुक्त रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । दुवै दलले समर्थन फिर्ता लिएपछि अंकगणितीय कारण सरकार अल्पमतमा परेको हो । मधेशमा सरकार सञ्चालनका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा माओवादीका ९ र एमालेका २४ गरि ३३ जना प्रदेश सांसदले सरकारको समर्थन फिर्ता लिएका छन् ।
यही बैशाख पहिलो साता नयाँ समीकरण अनुसार लिईएको विश्वासको मतमा मुख्यमन्त्री यादवलाई ६१ जना प्रदेश सांसदले समर्थन जनाएका थिए ।