
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ब्रम्हायणी हाईड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ ।
तीन वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले सुरुङको मुखमा विस्फोट गराएर ब्रम्हायणी जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरु गरेको हो । ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणको वित्त व्यवस्थापन सानिमा बैँकको नेतृत्वमा बैँकहरुले गर्ने सम्झौता भैसकेको छ । कम्पनीका अध्यक्ष भरत पराजुलीले विशेष परिस्थिति उत्पन्न नभएमा आयोजनालाई तोकिएको समयमै पूरा गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । आयोजनाले चार किमि नयाँ ट्रयाक सहित २७ किमि प्रवेशमार्ग निर्माण तथा मर्मत गरेको छ । जुगल गाउँपालिक २ छिन्दाङबाट ५.५ किलोमिटर सुरुङमार्फत् ब्रम्हायणीको पानी तेम्बाथान नजिकैको द्धिपुरस्थित पावर हाउसमा पु¥याएर विद्युत उत्पादन गर्ने योजना रहेकोे छ ।