काठमाडौं । आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै असार सुरु भएदेखि भदौ अन्तिमसम्मको अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको सूचनामा उल्लेख छ ।
सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको छ । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाएको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।











