images
images

व्यक्ति हत्या गरी प्रजातन्त्र दिवसमा छुटेका दोलखा मेलुङका दुई पुरुष २३ वर्षपछि पक्राउ

  • ३० जेष्ठ २०८१, बुधबार १८:४५

दोलखा । हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला भएपनि असल चालचलन भएको भन्दै छुटेका दोलखाको मेलुङ गाउँपालिकाका दुई पुरुष २३ वर्षपछि पुनः पक्राउ परेका छन् ।

मेलुङ गाउँपालिका–८ का ७२ वर्षीय वृद्ध दुर्गाबहादुर दमाई र सोही स्थानका ५३ वर्षीय साधुराम भनिने खड्गबहादुर दमाई असल चालचलन भएको भन्दै छुटेको २३ वर्षपछि पुनः पक्राउ परेका हुन् । उनीहरुविरुद्ध दोलखा जिल्ला अदालतले २०५३ साल माघ २५ गते हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, दुवै जना कारागार व्यवस्थापन विभागको सिफारिस अनुसार असल चालचलन भएको भन्दै २०५६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कारागारबाट छुटेका थिए ।

हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला भएका व्यक्तिलाई कैद मिनाहा गरिएको भन्दै पीडित पक्षले सर्वाेच्च अदालतमा पुनरावेदन दिएका थिए । सर्वाेच्चले पनि कैदी माफी मिनाहाको निर्णय उल्टाउँदै जिल्लाकै फैसलालाई सदर गरेको थियो । २०५८ सालको मंसिर ७ गते सर्वाेच्चको यस्तो फैसला आएपछि फरार रहेका उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २३ वर्षपछि काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्धामा कैद भुक्तानका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।