कास्की । कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले घर पुरिन्दा उनीसहित ७ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर कुलबहादुरकी आमा ८५ वर्षीया लक्षिमा परियार, ४३ वर्षीया श्रीमती मनकुमारी परियार, छोरी १५ वर्षीया प्रशना परियार, चिनवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो । उनीहरुको शव हाल पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।
यस्तै चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।