images
images

प्रधानमन्त्री प्रचण्डले आज पाँचौँ पटक विश्वासको मत लिँदै

  • २८ असार २०८१, शुक्रबार ०८:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज १८ महिनामा पाँचौँपटक विश्वासकोे मत लिन लाग्नुभएको छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । नेकपा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचाण्डले पुन संसदबाट विश्वासको मत लिनुहुनेछ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेश हुनेछ । प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा छलफलपछि त्यसमा उठेका प्रश्नको जवाफ दिएपछि विश्वासको मत निर्णयार्थ पेश गर्ने कार्यतालिका रहेको छ ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएसँगै एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो । २७५ सदस्यीय प्रतिनिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्नेछ । जसअनुसार प्रधानमन्त्री प्रचण्डसँग नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जना गरी ६३ मत मात्रै रहेको छ । सोही कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।

विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदमुक्त हुनुहुनेछ र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने भएका छन् । तर प्रधानमन्त्रीले विश्वासको मत नपाएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ अनुसार जाने तर्क गर्नुभएको छ ।