काठमाडौँ । त्रिशुली नदीमा खसेका दुई वटा बसमा सवार ५५ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
चितवनको भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा पहिरोमा परि त्रिशुली नदीमा खसेका दुई वटा डिलक्स बस अझै फेला पर्न नसकेको हो । दुई वटा बस त्रिशुली नदीमा खस्दा कम्तिमा ५५ यात्रुको अवस्था अज्ञात छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश– ०३–००६ ख १५१६ नम्वरको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश –०३–००१ ख २४९५ नम्वरको गणपती डिलक्स बस नारायण गढ – मुग्लिन सडक खण्डको सिमलतालबाट नदीमा खसेका हुन् । सशस्त्र प्रहरी बल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरेपनि बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमाण्डमा हाल ७० जनाको टोली खोज तथा उद्धारमा खटिएको छ । एन्जल डिलक्समा २४ जना र गणपति डिलक्समा चालक दलका सदस्यसहित ३१ जना यात्रु सवार थिए । गणपति डिलक्समा सवार ३ जना यात्रु भने हाम फालेर बच्न सफल भएका छन् ।