images
images

विश्वासको पक्षमा ६३ मत, ढल्यो प्रचण्ड नेतृत्वको सरकार

  • २८ असार २०८१, शुक्रबार १७:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।आज प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेपछि पनि प्रचण्डले एकै कार्यकालमा आज पाँचौँ पटक विश्वासको मत लिनुभएको हो । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गर्नुभएको छ भने विपक्षमा १९४ सांसदले मतदान गरेका छन् । विश्वासको मत प्रक्रियामा २५८ सांसद सहभागी भएका थिए । एक जनाले भने पक्ष/विपक्षमा मतदान गरेनन्। उहाँ २०७९ साल पुस ११ गते एमालेसहित एक सय ६९ सांसदको समर्थनमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको थियो । सो समझदारीपछि असार १९ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएको थियो । समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार ३० दिनभित्र विश्वास लिनुपर्ने संवैधानिक बाध्यता थियो ।