दोलखा । दोलखाका ९ स्थानीय तहमध्ये गौरीशंकर गाउँपालिका बाढी पहिरोजस्ता प्राकृतिक विपद्को सबैभन्दा बढी जोखिममा रहेको छ ।
पालिकाले बर्षेनि बाढी पहिरोका कारण ठुलो धनजनको क्षति व्यहोर्दै आएको छ । वर्षायाम सुरु भएसँगै अन्य स्थानीय तहको तुलनामा गौरीशंकर गाउँपालिकाले सबैभन्दा बढी बाढी पहिरोजस्ता प्राकृतिक विपद्को सामना गरिरहेको हो । गौरीशंकरका प्रायजसो वडाहरु बाढीपहिरोको जोखिममा रहेका छन् । विशेषगरी पालिकाको सुरी, चंखु, मार्बु, खारे, गौरीशंकर बाढी पहिरोको उच्च जोखिममा रहेका हुन् । गाउँपालिकाका नदी तटीय क्षेत्रका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । पालिकाको तल्लो क्षेत्र नदी तटीय क्षेत्र र माथिल्लो भूभाग कमजोर भएका कारण बाढी पहिरोको उच्च जोखिममा रहेको हो ।
यो वर्षको मनसुन सुरु भएयता मात्रै गौरीशंकर गाउँपालिकामा ठुलो धनजनको क्षति भईसकेको छ । गत असार २१ गते शुक्रबार राति गौरीशंकर गाउँपालिका–९ छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ पदमार्गमा आएको बाढी पहिरोसँगै वडा नम्बर ९ डोगाङमा ठुलो क्षति गरेको थियो । बाढीले डोगाङमा साना ठुला गरि तीनवटा होटल तथा चार पाँच वटा साना घरहरु पूर्ण क्षति हुनुका साथै स्थानीय होटल व्यवसायी ६० वर्षिया जाङ्मु शेर्पा वेपत्ता भएकी थिईन् । वेपत्ता भएको ८ दिनसम्म पनि जाङ्मु अझै फेला पर्न सकेकी छैनन् ।
रोल्वालिङ खोलामा आएको बाढीमा वेपत्ता भएकी होटल व्यवसायी जाङ्मु शेर्पा ।
रोल्वालिङ खोलामा आएको बाढीले बेदिङको बस्ति कटान गर्नुका साथै च्छो रोल्पा र रोल्वालिङ क्षेत्र जाने पदमार्ग पनि क्षेतिग्रस्त भएको छ । बाढीले बेदिङमा लगिएको राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा र सञ्चार समेत अवरुद्ध बनाएको छ । यस्तै, यही असार २५ गते मंगलबार राति आएको बाढी पहिरोले गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ३० मेघावाट क्षमताको खानीखोला जलबिद्युत आयोजनाको हेडवक्र्समा क्षति पु¥याएको हो । बाढी पहिरोका कारण गौरीशंकर गाउँपालिकाको चंखु र मार्बु जोड्ने सडक अवरुद्ध भएको छ भने चंखु, मार्बु र गौरीशंकरमा टेलिफोन सम्पर्क समेत विच्छेद भएको छ ।
गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले शुक्रवार बाढीले क्षतिग्रस्त बनाएको चंखु–मार्बु पुग्ने सडकको अनुगमन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कार्की, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ लगायतको टोलीले बाढीले सडकमा पु¥याएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन् । क्षतिग्रस्त सडकको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष कार्कीले तत्काल सडक सुचारु गर्न निर्देशन दिनुभएको छ । उहाँका अनुसार आजैबाट पहिरो पन्छाउने काम भैरहेको र छिट्टै अवरुद्ध सडक सुचारु हुनेछ । साथै अवरुद्ध बिद्युत र टेलिफोन सुचारु गर्ने विषयमा नेपाल बिद्युत प्राधिकरण र टेलिकमका अधिकारीहरुले समेत क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेको र भोलीबाट बिद्युतीय पोल, तार लगायतका काम सुरु हुने बताउनुभयो ।
गत वर्ष पनि गाउँपालिकाको वडा नम्बर ७ मार्बुको टोपाटारमा पहिरोले ६ वटा घर पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । गौरीशंकर गाउँपालिकाले विपद् व्यवस्थापन कोष खडा गरी खोज, राहत र उद्धारको काम गर्दै आएको छ । पालिकाले क्षतिग्रस्त आवास निर्माणका लागि विपद् व्यवस्थापन कार्यबिधि बनाएर क्षतिको विवरण र आर्थिक अवस्था हेरी अधिकतम १ लाख रुपैयाँसम्म सहयोग गर्ने गरेको छ ।
गौरीशंकरमा २०७५ सालमा पहिरोले जुँगुका एक युवक बेपत्ता भएका थिए भने २०७७ सालमा खारेमा एक जनाको मृत्यु भएको थियो । गत वर्ष साउन १८ गते गाउँपालिकाको वडा नम्बर ७ मार्बुको टोपाटारमा राति बस्ति माथिवाट खसेको पहिरोले ६ वटा घर पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । पहिरोमा परी तीन जना घाईते भएका थिए । गत वर्ष गएको पहिरोबाट वडा नम्बर ७ र ८ मा १९ घरपरिवार बिस्थापित र ५७ घरपरिवार जोखिममा परेका थिए । सो समयमा ठुलो संख्यामा पशुचौपायामा समेत क्षति पुगेको थियो ।
गौरीशंकर गाउँपालिकाले विपद् व्यवस्थापन कोष खडा गरी खोज, राहत र उद्धारको काम गर्दै आएको छ । चालु वर्ष सो कोषमा ३० लाख बजेट छुट्याईएको थियो भने आगामी आर्थिक वर्षका लागि पनि ३० लाख बजेटको प्रस्ताव गरिएको छ । पालिकाले क्षतिग्रस्त आवास निर्माणका लागि विपद् व्यवस्थापन कार्यबिधि बनाएर क्षतिको विवरण र आर्थिक अवस्था हेरी अधिकतम १ लाख रुपैयाँसम्म सहयोग गर्ने पालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँका अनुसार प्राकृतिक विपद्बाट घाईते भएकारुको पालिकाले उपचार खर्च व्यहोर्ने गरेको छ । गत वर्ष पहिरोमा परि घाईते भएका सबै जनाको गाउँपालिकाले नै उपचारको व्यवस्था मिलाएको थियो । विपद्मा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्चवापत् ३० हजार तथा विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणका लागिे सहयोग गर्दै आएको छ ।