आज जनैपुर्णिमा तथा रक्षा बन्धन धुमधामका साथ मनाइँदैछ ।
आज विहानैदेखि शुद्ध सफा भएर गुरुपुरोहितबाट नाडीमा रक्षा बन्धन बाँध्ने गरिन्छ । श्रावन शुक्ल पुर्णिमाको दिन ब्राम्हण तागाधारीहरुले पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने भएकोले आजको दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । रक्षाबन्धनको अवसरमा दिदीवहिनीहरुले आफ्ना दाजुभाइको नाडीमा दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ । आजको दिन सप्तऋषी सहित अरुन्धतीलाई पनि तर्पण दिईने भएकोले जनैपूर्णिमा पर्वलाई ऋषी तर्पणी पनि भनिन्छ । पुर्णिमाको अवसरमा मास, भटमास, मँुग, केराउ, चना, सिमी, बोडी लगाएतका नौं प्रकारका गेडागुडी भिजाएर पकाइएको ‘क्वाँटी’ खाने चलन छ । नेवार समुदायले आजको दिन घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरि मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुताहरुलाई पूजा गर्ने गर्दछन् ।
जनैपुर्णिमाको अवसरमा रामेछाप र दोलखाको सिमानमा रहेको पाँचपोखरी, जटापोखरीमा मेला लागि रहेको छ । यस्तै, दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक भगवति, भीमेश्वर मन्दिर लगायतका मन्दिरमा जनैपुर्णिमाको अवसरमा भक्तहरुको घुईचो लागेको छ । महत्वपुर्ण धार्मिक स्थलका रुपमा लिईएको पाँचपोखरी र जट्टापोखरीमा लगातार ५ दिन सम्म बिषेश मेला लाग्ने गर्दछ । धन र सन्तान प्राप्त हुने तथा चिताएको पुग्ने धार्मिक बिस्वासका साथ भक्तजनहरु त्यहाँ जाने गरेका छन् ।
जनैपूर्णिमाको धार्मिक महत्वः
जनैपूर्णिमाको धार्मिक महत्व सत्ययुगसँग सम्बन्धित छ । सत्य युगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरु बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा मनाउन थालिएको हो भन्ने मान्यता रहिआएको छ । सो दिनदेखि आजसम्म ब्राह्मण वा आचार्य गुरुहरूले विशेष मन्त्र पाठ गरी रक्षा बन्धन र जनै बाँधिदिन्छन् ।
रक्षाबन्धनको महत्वः
जनैपूर्णिमाको दिन दिदीवहिनीहरुले आफ्ना दाजू(भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको रक्षाबन्धनरराखी बाँधेर, टिका लगाएर मिठाई खुवाउछन् । दाजुभाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा दिदि बहिनीको रक्षा गर्ने वचन दिन्छन् । एक शास्त्रिय कथा अनुसार, यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बांध्ने सन्दर्भमा ‘जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ’ प्रतिज्ञा दिएको हुन्छ । यसर्थ रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनको श्रेष्ठता एवंम निडरतासँग छ । यसरी बाँधिएको धागो गाई तिहारका दिन निकालेर गाइको पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास छ ।










