images
images

चुनाव जितेका एमाले जनप्रतिनिधि जिम्मेवार नहुँदा विकासमा दोलखा पछि पर्योः मन्त्री खड्का

  • २७ श्रावण २०७९, शुक्रबार १७:१२

दोलखा । नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले २०७० सालमा एमालेले निर्वाचन जितेपछि दोलखाको विकास पछि परेको बताउनुभएको छ ।

अखिल नेपाल खेलकूद महासंघ दोलखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले २०७० सालमा एमालेले जितेका कारण दोलखाको विकास १० वर्ष ब्याक भएको बताउनुभयो । एमालेवाट निर्वाचित जनप्रतिनिधि जिल्लाको विकास निर्माणमा जिम्मेवार नभएका कारण फिल्म सिटी निर्माण, सडक कालोपत्रे लगायतका पूर्वाधार विकासका काम हुन नसकेको उहाँको आरोप छ । प्रदेश र संघको बजेटबाट पर्यटकीय स्थल शैलुङमा हाई अल्टिच्युट स्पोर्टस् सेन्टर, जिरी ताल र उत्तर दक्षिण हाइवेको भर्खर टेण्डर निकालेर काम सुरु भएकोे भन्दै मन्त्री खड्काले जिल्लाको महत्वका आयोजनालाई पूरा गर्न फेरी पनि विकासप्रति जिम्मेवार पार्टीका जनप्रतिनिधि निर्वाचित हुनु पर्ने धारणा राख्नुभयो ।

आगामी निर्वाचनमा माओवादीले जिते मात्रै जिरी ताल बन्ने उहाँको भनाई छ । मन्त्री खड्काले जिरीमा अधुरो रहेको रंगशाला निर्माण गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । एमाले विकास निर्माणको बाधक बनेको भन्दै मन्त्री खड्काले एमालेलाई निशाना बनाएर काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि दोलखामा माओवादी केन्द्र पहिलो पार्टी बनेको मन्त्री खड्काको भनाई छ । अहिले जिल्ला समन्वयदेखि अधिकाँश स्थानिय तहमा माओवादीको नेतृत्व रहेको भन्दै उहाँले माओवादी केन्द्र आफैमा सुगन्धित पार्टी बनेको र दोलखाको विकासको महत्वपूर्ण जिम्मेवारी माओवादीकै काँधमा आएको बताउनुभयो । अर्को प्रसंगमा उहाँले सरकारको नीति बनाउनका लागि ४५ प्रतिशत युवा आवश्यक रहेको बताउनुभयो । देश बनाउन सबै कुराको एकता चाहिने भन्दै उहाँले संगठनको शक्ति कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा लाग्न आग्रह गर्नुभयो ।