images
images

बागमती प्रदेश सरकारको बजेट खर्च ७२ प्रतिशत, वित्तीय प्रगतिमा सुधार

  • २८ श्रावण २०८१, सोमबार ०८:५८

हेटौंडा । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा कुल बजेटको ७२ प्रतिशत खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म प्रदेश सरकारको कुल बजेट खर्च ७२ दशमलव ८३ प्रतिशत भएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा पुँजीगततर्फ ७९ दशमलव ४७ प्रतिशत, चालुतर्फ ६५ दशमलव १४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेशका १३ मन्त्रालय र सो मातहतका निकायहरूले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६ दशमलव २३ प्रतिशत बढी बजेट खर्च गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल विनियोजित बजेटको ६६ दशमलव ०६ प्रतिशत बजेट खर्च गरेको थियो । सबैभन्दा बढी अंकको बजेट ल्याएको आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको खर्च ६६ दशमलव ०६ प्रतिशत मात्र थियो । सो आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले ४६ अर्ब ८६ करोड २० लाख रुपैयाँ मात्र खर्च गरेको थियो ।