जिरी (दोलखा) । दोलखाको तीन प्रमुख राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा जिल्लाको समृद्धि र विकासको बारेमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । कांग्रेस जिल्ला सभापति बर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक कमल श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्लामा हुनुपर्ने विकासका क्षेत्र, हुन नसकेका विकास आयोजना र अब दोलखाको लागि सरकारले गरिनुपर्ने विकास निर्माणका कामहरुको बारेमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा चिनसँग जोडिएको विगु गाउँपालिका अन्तर्गत पर्ने लामाबगर–फलाक सडक निर्माणगरी त्रीदेशीय नेपाल, भारत र चिनको व्यवसायिक सम्बन्ध विस्तार गर्नुपर्ने देखि भेड्पुमा रहेको गुठीको नाममा रहेको जग्गा समेतको विषयलाई उठान गरिएको छ । यसैगरी, उनीहरुले तामाकोशी तेस्रो जलविद्युत आयोजनालाई दोलखाबासीको समेत स्वामित्व हुनेगरी पूर्ण क्षमतामा तत्काल निर्माण गर्नुपर्ने माग राखेका छन् ।
म्याग्नेसाइट सञ्चालनमा ल्याउनुपर्ने
विशेषगरी जिल्लाको गौरवका आयोजनाहरु उल्लेखगरी ध्यानाकर्षण गराएका उनीहरुले खरिढुंगा म्याग्नेसाइट तथा खरी खानी बन्द अवस्थामा रहेकोले नियमित सञ्चालन गर्ने व्यवस्था मिलाउन माग राखेका छन् । भीमेश्वर नगरपालिका–९ मा पर्ने खरिढुंगामा एसियाकै ठूलो मानिने म्याग्नेसाइट सञ्चालनमा थियो ।
पछिल्लो पटक उक्त म्याग्नेसाइट रुग्न अवस्थामा ठप्प छ । उक्त खानीको परिचालन र सदुपयोग गर्दा मुलुकको राष्ट्रिय आम्दानीमा राम्रो प्रभाव पर्ने भएकोले खानी पुनः सञ्चालन गरिनुपर्ने र जिल्लाको उत्तरी क्षेत्रमा रहेको स्लेट ढुंगा खानीलाई व्यवसायिक र आधुनिक रुपमा स्थानीय समुदायको सिपलाई प्रवद्र्धन गर्दै नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औल्याइएको छ । स्लेट ढुंगा खानी हाल त्यहाँका स्थानीय थामी समुदायले परम्परागत रुपमा जिविकाको साधन बनाइरहेका छन् ।
उनीहरुले जिल्ला सदरमुकाम चरिकोटमा विमानस्थल निर्माण तथा जिल्लालाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गरी आवश्यक पूर्वाधारहरु निर्माणका लागि माग गरेका छन् । नेपालको पहिलो प्रस्तावित खरिढुंगाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने योजनामा ध्यान दिन भनिएको छ ।
साथै, पुष्पलाल लोकमार्गले दोलखालाई नछोएको भन्दै सदरमुकाम चरिकोट हुँदै जानेगरी लोकमार्गको पुनः रेखांकन गर्न माग गरिएको छ । यस्तै, तीनै तहको सरकारको अधिकार क्षेत्रको कार्यान्वय नभएकोले संवैधानिक मर्म अनुसार स्थानीय तह र प्रदेश सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै सोही अनुसारको आवश्यक कानुन निर्माणका लागि जोड दिन पनि उनीहरुले माग गरेका छन् ।
जिरीमा ताल निर्माण र विमानस्थल सञ्चालन हुनुपर्ने
नेपालको स्वीजर ल्याण्डको नामले परिचित जिरी नगरपालिकामा ताल निर्माण, विमानस्थल, कृषि फर्म लगायतका पूर्वाधार निर्माणका लागि पहल गर्न र जिरीदेखि सगरमाथा सम्म पर्यटकीय राजमार्ग निर्माण गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको जिरी ताल निर्माणको योजना हाल अलपत्र अवस्थामा रहेको छ । पटक–पटक विनियोजन भएको बजेट समेत फ्रीज गइरहेको छ ।
भेड्पुका नागरिकको नाममा जग्गा दिलाउनुपर्ने
दोलखामा रहेको धार्मिक तथा ऐतिहाँसिक महत्वको भीमेश्वर, कालिञ्चोक मन्दिर, सैलुङ, विगु तथा लप्ची गुम्बा, पवित्र गौरीशंकर र च्छोरोल्पा हिमलाई समेत एकै कोरीडोरमा समेटिएर धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने, मेलुङ गाउँपालिका–४ स्थित भेड्पुका करिब २५ सय घरपरिवारलाई जग्गा गुठीबाट जनताको नाममा दिलाई दिनुपर्ने माग राखिएको छ ।
यसैगरी, दोलखाबाट युवा पलायनलाई रोक्न पशुस्रोत केन्द्रको विकास गरी निजी, सार्वजनिक र साझेदारी कार्यक्रमको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
वर्षातमा जिल्लाको सबै क्षेत्रमा ठूलो क्षति नभएपनि जिल्लाको उत्तरी क्षेत्रमा मानवीय र भौतिक केही क्षति भएको छ । कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकामा भीषण वर्षादका कारण झोलुङ्गे पुल, सडक, सिंचाईका कुलो लगायत बालीनालीमा समेत क्षति पुगेकोले क्षतिपूर्तिको व्यवस्था र पुर्ननिर्माणका लागि समेत पहल गरिदिन भनिएको छ ।