काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लामो समयपछि २९ सय अंकमा उक्लिएको छ ।
आज दिउँसो नेप्से सूचक ४६.३६ अंकले बढ्दै २९०७.२१ विन्दुमा उक्लिएको हो । यो कोरोना महामारीपछि कै सबैभन्दा उच्च विन्दु हो । यसअघि सन् २०२० मा कोभिड १९ को महामारीको समयमा अन्य व्यापार व्यवसाय ठप्प भएपनि सेयर बजारमा राम्रो कारोबार भएको थियो । सो समयमा नेप्से सूचक ‘अल टाईम हाई’ करिव ३२ सयको अंकमा पुगेको थियो । त्यसयता निरन्तर ओरालो लागेर १८ सयको विन्दुमा झरिसकेको नेप्से सूचक पुनः उकालो लागेको हो ।
नेप्से यसअघि हिजो ९४ अंकले बढ्दा हालसम्मकै उच्च २५ अर्ब ३३ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको थियो ।