काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता निर्वाचन गर्न सुझाव दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले देशभरका ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच आज छलफल भएको थियो । उनीहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको हो । प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गर्नुभएको थियो ।
मिति घोषणा गर्नुअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला लगायतको सहभागीता थियो । दोलखामा पनि एक पदमा निर्वाचन हुनेछ । गौरीशंकर गाउँपालिकामा उपाध्यक्षको मृत्यु भएपछि रिक्त पदपूर्तिको लागि निर्वाचन हुनेछ ।