images
images

देशभरका सबै जिल्लामा डेंगु फैलियो, ८ हजार बढी मानिस संक्रमित

  • २७ भाद्र २०७९, सोमबार ०८:१५

काठमाडौँ । डेङ्गीको संक्रमण देशभर फैलिएको छ ।

७७ वटै जिल्लामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । हालसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले जानकारी दिनुभयो । डेङ्गीको संक्रमण कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार डेङ्गी संक्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रोग समेत पाइएको छ । एक जनालाई कडा खालको दीर्घरोग र अर्का एक जनालाई डेङ्गीसँगै स्क्रब टाइफस पनि भएको पुष्टि भएको इपिडिमियोली तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसैबीच, डेंगु संक्रमण बढ्दै जाँदा सरकारले रोकथाम गर्न रोग सार्ने लामखुट्टे नष्ट अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्लो दिन डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजौं र नष्ट गरौं भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । सबै स्वास्थ संस्थाबाट डेंगुका बिरामीको विवरण स्थानीय तहमार्फत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई नियमित पठाउन समेत आग्रह गरेको मन्त्रलयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसका साथै अभियान कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, संघसंस्था तथा सम्पूर्ण सरोकारवाला निकायलाई स्थानीय तहमार्फत परिचालन गरी आ–आफ्नो वडाका प्रत्येक घरमा अभियान सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ ।