दोलखा । दोलखामा थप ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिरी अस्पतालमा परिक्षण गराएका ५ जना र तामाकोशी गाउँपालिकामा गरीएको परीक्षणमा एक जना गरी थप ६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय दोलखाले पनि जिल्लामा थप ६ जनामा डेंगु संक्रमण देखिएको पुष्टि गरेको छ । जिरी अस्पतालमा स्वास्थ्य परिक्षण गराउन आएकी रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ की २४ वर्षिया महिलामा भदौ २५ गते डेंगु संक्रमण पुष्टि भएको थियो भने २६ गते जिरी नगरपालिका वडा नम्बर ६ की ३४ वर्षिया महिला र जिरी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय पुरुषमा डेंगु पुष्टि भएको हो । यस्तै आज जिरी नगरपालिका वडा नम्बर ३ का २३ बर्षिय युवक र जिरी नगरपालिका वडा नम्बर ४ की २३ वर्षिया युवतिका डेंगु संक्रमण देखिएको हो ।
जिरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख एवम् जनस्वास्थ्य अधिकृत केशव दहालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि जिरी अस्पतालमा आएका उनीहरुलाई डेंगु संक्रमण भएको आशंकामा परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएकामध्ये जिरी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय पुरुषको जिरी अस्पतालमै उपचार भइरहेको छ भने अन्य संक्रमित डक्टरको परामर्शमा आफ्नै घरमा बसेका छन् । संक्रमित सवैको ट्राभल हिस्ट्री काठमाडौं रहेको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामाका ३१ वर्षिय पुरुषमा डेंगु पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अरुण कुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार चार दिनअघि काठमाडौंबाट आएका उनलाई ज्वरो आएको थियो । ज्वरोको मात्रा बढ्दै गएपछि डेंगु आशंकामा आज स्वास्थ्य परिक्षण गर्दा ति पुरुषको रिर्पोट पोजेटिभ आएको मिश्रले बताउनुभयो । डेंगु पुष्टि भएका पुरुषमा प्लेटलेट्सको मात्रा कम देखिएकाले इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखासँग थप समन्वय गरिरहेको तामाकोशी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसअघि जिल्ला सदरमुकाम स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा तीन जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । योसँगै दोलखामा डेंगु संक्रमितको संख्या ९ पुगेको छ ।